मोदीको नेपाल भ्रमण : राष्ट्रपति संग शिष्टाचार भेट नगर्ने

  • प्रकाशित मिति : May 12, 2022
  • लोकतान्त्रिक संवाददाता

२९ वैशाख, काठमाडौं । पाँचौंपटक नेपाल भ्रमणमा आउन लागेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेट नगर्ने भएका छन् ।

बुद्ध पूर्णिमाको अवसरमा जेठ २ गते नेपाल आउन लागेका मोदी सिधैं लुम्बिनी पुग्नेछन् । लुम्बिनीमा आयोजना हुने बुद्ध जयन्तीको विशेष कार्यक्रममा सहभागिता जनाएर मोदी उतैबाट स्वदेश फर्कने तालिका सार्वजनिक भएको छ ।

परराष्ट्र मन्त्रालयले सार्वजनिक गरेको तालिकामा मोदी काठमाडौं आउने कार्यक्रम समावेश छैन । सार्वजनिक तालिकाअनुसार प्रधानमन्त्री शेरबहादुर देउवा र परराष्ट्रमन्त्री डा. नारायण खड्काले मोदीलाई लुम्बिनीमै भेटवार्ता गर्नेछन् ।

सार्वजनिक तालिकाअनुसार दुई समकक्षी मायादेवी मन्दिरमा हुने प्रार्थनामा सहभागिता हुने छन् । त्यसैगरी, लुम्बिनीको विहार क्षेत्रमा बौद्ध संस्कृति र सम्पदा केन्द्र निर्माणको शिलान्यास गर्ने र पाँच हजार क्षमताको अन्तर्राष्ट्रिय सभाहलमा आयोजना हुने विशेष समारोहलाई सम्बोधन गर्ने कार्यकम तय भएको छ ।

प्रधानमन्त्री देउवाको निमन्त्रणामा नेपाल आउन लागेका मोदीको भ्रमणदलमा विदेश सचिव विनयमोहन क्वात्रा र विदेश मन्त्रालयका अधिकारीहरु रहने बताइएको छ ।