भरतपुरको मतगणना स्थलमा अग्लो तारजाली

  • प्रकाशित मिति : May 12, 2022
  • लोकतान्त्रिक संवाददाता

२९ वैशाख,चितवन । वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि भरतपुर महानगरपालिकामा निर्वाचन तयारी पूरा भएको छ।

बिहीबार मतदानस्थल र निर्वाचन केन्द्रहरुको सम्पूर्ण तयारी सकिएको मुख्य निर्वाचन अधिृकतको कार्यालय, चितवनका सूचना अधिकारी पुरुषोत्तम पौड्यालले जानकारी दिए।

सूचना अधिकारी पौड्यालले भरतपुर महानगरपालिकाको मतपत्र मतगणना कार्य चितवन उद्योग संघको ब्लक सीको क्षेत्रमा हुने पनि बताए। मतगणनास्थलमा तारजाली लगाइएको छ। अघिल्लो पटकको स्थानीय तहको निर्वाचनमा मतपत्र च्यातिएपछि विवाद सिर्जना भएको थियो। उक्त घटनालाई मध्यनजर गर्दै यसपटक मतगणनास्थलमा फलामे तारबार गरिएको हो।

उनले भरतपुर महानगरपालिकासहित चितवनका विभिन्न मतदानस्थलहरुको तयारी पनि पूरा भएको जानकारी दिए।

सूचना अधिकारी पौड्यालले स्थानीय तह निर्वाचन २०७९ को लागि भरतपुर महानगरपालिका मुख्य निर्वाचन अधिकृतको कार्यालयले कर्मचारी व्यवस्थापन र मतपत्र व्यवस्थापन लगायतका कर्मचारी खटाउने, नियुक्ति दिएर सम्बन्धित मतदान केन्द्रमा पठाउने कार्यहरु सम्पन्न गरेको बताए।

उनले मतदान स्थलको सबै क्षेत्र सिसिटिभीको निगरानीमा रहने र त्यो क्षेत्रलाई निर्वाचन आयोगले निगरानी गर्नेगरी व्यवस्था गरिएको बताए। उनले २ वटा सिसिटिभी क्यामेराले चौविसै घण्टा मतपत्र भण्डारण कक्षलाई निगरानीमा राखेको र त्यो कक्षको डिस्प्लेमार्फत प्रतिनिधिहरुलाई देखाउने पनि व्यवस्था गरेको बताए।