कोरियन भाषा परीक्षाको आवेदन चैत १४ देखि: परीक्षा तालिका सार्वजनिक

  • प्रकाशित मिति : March 14, 2022
  • लोकतान्त्रिक संवाददाता

३० फागुन, काठमाडौं । कोरियन भाषा परीक्षा इपिएस टपिक का लागि आवेदन खुल्ने भएको छ। वैदेशिक रोजगार विभाग, इपिएस कोरिया शाखाले सोमबार सार्वजनिक सूचना जारी गरेर १४ देखि २१ गतेसम्म आवेदन खुल्ने जानकारी दिएको हो।

१८ वर्ष पूरा भई ३९ वर्ष ननाघेका नेपाली नागरिकले अनलाइन मार्फत आवेदन दिन पाउने छन्। कोरियामा गई काम गर्न इच्छुक नेपालीका लागि भाषा परीक्षाको आवेदन खुल्न लागेको हो।

कृषि तथा पशुपालन क्षेत्रको पहिलो भाषा र सीप परीक्षण परीक्षा वैशाख २९ देखि जेठ १३ सम्म तथा दोस्रो परीक्षा जेठ २४ देखि असार १६ सम्म हुनेछ भने उत्पादनमूलक क्षेत्रको पहिलो भाषा परीक्षा तथा सीप परीक्षण परीक्षा असार २० देखि भदौ १० र दोस्रो परीक्षा भदौ १६ देखि असोज २१ सम्म हुनेछ।

सार्वजनिक सूचनाअनुसार उत्पादन मूलक क्षेत्रमा पढाइ र सुनाइ गरी १०० पूर्णांकको परीक्षामा उत्तीर्ण हुन कम्तिमा ५५ अंक ल्याउनुपर्नेछ। ९० पूर्णांकको कृषि तथा पशुपालन क्षेत्रमा उत्तीर्ण हुन कम्तिमा ३६ अंक ल्याउनुपर्नेछ।

परीक्षा शुल्क २४ डलर तोकिएको छ। परीक्षा केन्द्र र परीक्षा समय सार्वजनिक भइसकेको छैन।