संखुवासभा बस दुर्घटनाः मृतक परिवारलाई प्रदेश सरकारले १ लाख दिने

  • प्रकाशित मिति : March 11, 2022
  • लोकतान्त्रिक संवाददाता

२७ फागुन, काठमाडौं । प्रदेश १ सरकारले संखुवासभाको मादी– ६ मा भएको सवारी दुर्घटनामा परेकालाई आर्थिक सहयोग गर्ने जनाएको छ।

प्रदेश १ का आन्तरिक मामिला तथा कानुनमन्त्री केदार कार्कीका अनुसार बिहीबार संखुवासभाको मादी– ६ मा भएको सवारी दुर्घटनामा मृत्यु भएका प्रत्येक परिवारलाई आर्थिक सहयोगस्वरुप १ लाख रुपैयाँ उपलब्ध गराउने छ।

मन्त्री कार्कीले सवारी दुर्घटनाले प्रदेश सरकारलाई स्तब्ध बनाएको बताउँदै मृतक १५ जनाको परिवारलाई आर्थिक सहयोग गर्ने बताए।
सो दुर्घटनामा घाइते सबैको उपचार खर्च पनि प्रदेश सरकारले नै व्यहोर्ने मन्त्री कार्कीले जानकारी दिए।

संखुवासभाको मादीबाट झापाको दमक आउँदै गरेको बा ४ ख ७३५ नम्बरको यात्रुबाहक बस मादी सातघुम्ती मोडमा दुर्घटना भएको थियो। प्रदेश १ का प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक अरुण बिसीका अनुसार १४ जना यात्रुको घटनास्थलमै मृत्यु भएको थियो। घाइते ५ जनालाई उपचारका लागि हेलिकप्टबाट धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान ल्याइएको थियो। बीपीमा २७ वर्षीया युका पोखरेलको उपचारको क्रममा मृत्यु भएको उनले जानकारी दिए।

उनका अनुसार घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ। प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार बसको इञ्जिनमा त्रुटि देखिएको र ब्रेकमा समस्या आएको हुनसक्छ।

घटनामा परी मादी ६ का ५० वर्षीय डम्बरबहादुर कार्की, मादी ४ की २४ वर्षीया करिस्मा तामाङ, मादी ६ की २२ वर्षीया तुलसा कट्वाल र मादी ४ का २४ वर्षीय सुवास तामाङ घाइते छन्। उनीहरुको बीपी प्रतिष्ठान धरानमा उपचार भइरहेको प्रदेश १ प्रहरी कार्यालय विराटनगरले जनाएको छ। उनीहरुको अवस्था सामान्य रहेको छ।

प्रहरीका अनुसार घटनास्थलमा बसका चालक तेह्रथुम फाक्चामाराका ३१ वर्षीय विपीन निरौला, सहचालक मादी ५ का उमेश भट्टराई, मादी ४ का ६० वर्षीय बलबहादुर कार्की, मादी ५ का ५५ वर्षीय श्याम शेर्पा, मादी ५ का ४८ वर्षीय दीपककुमार दाहाल, मादी ५ का ४९ वर्षीय भवानीप्रसाद दाहाल, मादी २ का ४२ वर्षीय इन्द्र अधिकारी, मादी ६ की ३२ वर्षीया अञ्जना कटवाल, मादी ६ की ३० वर्षीया सीता बिक, मादी ४ की २८ वर्षीया सविता कार्की, मादी ६ की ५ वर्षीया दीक्षा कटवाल, मादी ४ का आइतबहादुर तामाङ, ताप्लेजुङकी ३१ वर्षीया समीक्षा योञ्जन र ताप्लेजुङकै ८ वर्षीय सुदीप घिसिङको मृत्यु भएको थियो।