युक्रेनबाट द्वन्द्व प्रभावित नेपालीको उद्धार, ५८४ जना सुरक्षित गन्तव्यमा

  • प्रकाशित मिति : March 10, 2022
  • लोकतान्त्रिक संवाददाता

२६ फागुन, काठमाडौं । रुस-युक्रेन द्वन्द्वबाट प्रभावित अधिकांश नेपालीको उद्धार कार्य सकिएकाे छ ।

जर्मनीका लागि नेपाली राजदुत रामकाजी खड्काले हालसम्म युक्रेनबाट नेपाली सुरक्षित  स्थानमा  पुगेकाले  उद्धार  कार्य  सम्पन्न भएको जनाएका छन् । राजदुत खड्काले  अन्य देशको  तुलनामा नेपालीहरुको  उद्धार कार्य निकै छिटोछरितो  भएका कारणले  युद्धमा नेपालीको ज्यान सुरक्षित रहेको बताए ।

युद्ध सुरु भएपछि युक्रेनमा रहेका नेपाली पोल्याण्ड, स्लोभाकिया, हंगेरी, स्पेन, जर्मनी, रोमानिया र माल्दावा लगायतको देशमा पुगेका छन् ।

पछिल्लो तथ्यांक अनुसार पोल्याण्डमा ४६६ जना, स्लोभाकियामा ७८ जना,  रोमानियामा २८ जना, हंगेरीमा ८ जना र  ४  माल्दावामा नेपाली पुगेका हुन् । हाल सम्म ५८४ जना नेपाली सुरक्षित गन्तव्यमा पुगेका छन् ।

राजदुत खड्का अनुसार ३ जना नेपालीलाई भारतीय उडानमार्फत उद्धार गरिएको छ । उनीहरु भारतको नयाँदिल्ली  हुँदै  नेपाल आउने तयारीमा छन् । युक्रेनबाट निस्केकामध्ये ४० जना नेपालीले यात्रा अनुमति पत्र ट्राभल्स डकुमेन्ट लिएको  जर्मनस्थित नेपाली दूतावासले जनाएको छ।

करिब ३८ जनाको परिवार आफ्नो व्यवसाय सहित स्थायी बसोबास गर्दे आएकाले पारिवारिक, कानुनी र व्यवहारिक कारणले  युक्रेनमा रहेका छन् । उद्धार समितिका संयोजक तथा एनआरएनएका उपाध्यक्ष बद्री केसीले युक्रेनकाे युद्धमा  परेका नेपालीको उद्धारका लागि नेपाली समुदायले ठूलो सहयोग गरेकाे बताए ।