काठमाडौं महानगरपालिका वडा नं. १९ का वडाध्यक्षको निधन

  • प्रकाशित मिति : September 3, 2021
  • लोकतान्त्रिक संवाददाता

भदौ, १८ काठमाडौं ।  काठमाडौं महानगरपालिका वडा नं. १९ का अध्यक्ष शशीलाल श्रेष्ठको निधन भएको छ। ६५ वर्षीय उनको नर्भिक अस्पतालमा उपचारको क्रममा बिहीबार साँझ ७ बजे निधन भएको हो।

श्रेष्ठलाई डेढ महिना अघि खाना नलीको क्यान्सर देखापरेको थियो। श्रेष्ठको अन्तिम संस्कार आज हुने परिवारले जनाएको छ। आज बिहान ८ बजे अस्पतालबाट वडा कार्यालयमा लगेर अन्तिम श्रद्धाञ्जलीका लागि दिउँसो ३ बजेसम्म राख्ने कार्यक्रम रहेको वडासदस्य चन्द्रमान डंगोलले जानकारी दिए।

विद्यार्थीकालदेखि नै नेपाल विद्यार्थी सङ्घको राजनीतिमा सक्रिय भएका श्रेष्ठ २०४९ सालको स्थानीय निकाय निर्वाचनदेखि वडाध्यक्ष निर्वाचित भएका थिए। विसं २०५४ र २०७४ स्थानीय निर्वाचनमा पनि नेपाली काग्रेंसबाट उम्मेदवार भई श्रेष्ठ वडाध्यक्ष पदमा निर्वाचित भएका थिए। पञ्चायतकालमा पनि उनी वडा सदस्य पदमा निर्वाचित भएका थिए ।

वडाध्यक्ष श्रेष्ठको निधनमा महानगरपालिकाले आज एक दिन शोक बिदा दिने निर्णय गरेको प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवालीले जानकारी दिए।

उनका श्रीमती, तीन छोरी र एक छोरा छन्।