नेपाल एयरलाइन्सको जहाज खोप ल्याउन बुधबार चीन जाने

  • प्रकाशित मिति : July 16, 2021
  • लोकतान्त्रिक संवाददाता

काठमाडौं : कोरोना भाइरसविरुद्धको खोप भेरोसेल लिनका लागि साउन ६ गते जहाज चीनतर्फ जाने भएको छ। चिनियाँ खोप उत्पादक कम्पनीको नेपाललाई खोप उपलब्ध गराउने तयारी नपुगेकाले आगामी बुधबार मात्र नेपाल वायुसेवा निगमको वाइडबडी विमान चीनतर्फ जाने भएको हो। यसअघि असार ३१ गते चीन जाने भने पनि जहाजको तालिका परिवर्तन गरेर एक हप्ता पर सारिएको हो।

निगमका अपरेशन विभाग प्रमुख दीपुराज ज्युहार्चनले साउन ६ गतेदेखि तीन उडानमार्फत नियमित खोप ल्याइने जानकारी दिए। उनका अनुसार चीनसँग खरिद गरिएका खोप लिन पौनै ६ बजे गएर अर्का दिन अर्थात् साउन ७ गते बिहान खोप लिएर जहाज नेपाल आउने छ।

यस्तै‚ साउन ७ गते पुनः जहाज गएर साउन ८ गते र साउन ९ गते गएर जहाजले साउन १० गते खोप नेपाल ल्याउने छ। चीन सरकारसँग ननडिस्क्लोजर सम्झौतानुसार सरकारले ‘भेरोसेल’ खोप खरिद गरेर ल्याउन थालेको हो। यसअघि असार २५ गते आठ लाख मात्रा खोप चीनबाट ल्याइएको थियो। सरकारले चीनबाट खोप ल्याएपछि नियमितरुपमा खोप अभियान पनि सञ्चालन गरिरहेको छ।

यसैगरी सरकारले खरीद गर्नेबाहेक कोभ्याक्स सुविधामार्फत पनि खोप ल्याइरहेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। कृष्णप्रसाद पौडेलले ६० लाख जनसंख्यालाई पुग्ने खोप कोभ्याक्सले उपलब्ध गराउने प्रतिबद्धतानुसार खोप आइरहेको जानकारी दिए। सरकारले असार २८ गते अमेरिकाबाट १५ लाख ३४ हजार ८५० मात्रासहितको जोन्सन एण्ड जोन्सन खोप कोभ्याक्स सुविधाअन्तर्गत अनुदान सहयोग प्राप्त गरेको हो। यसअघि कोभ्याक्स सुविधामार्फत तीन लाख ४८ हजार खोप भारतबाट प्राप्त भएको थियो।

यस्तै‚ जापान सरकारले कोभ्याक्स सुविधाअन्तर्गत जापानमै उत्पादित कोभिड–१९ विरुद्धको एस्ट्राजेनिका खोपको १६ लाख मात्रा नेपाललाई प्रदान गर्ने घोषणा गरेको छ। नेपालमा अहिलेसम्म ६५ लाख ८२ हजार ८५० मात्रा खोप आइसकेको छ।

स्वास्थ्य सेवा विभागका खोप तथा बालस्वास्थ्य शाखाका प्रमुख डा। झलक शर्मा गौतमले कोभ्याक्समार्फत थप खोप आउन थालेको जानकारी दिए। कोभ्याक्समार्फत तीन लाख ५० हजार खोप आउन थालेको हो। सरकारले चीन र अमेरिकाले उपलब्ध गराएको खोप प्राथमिकताका आधारमा लगाइरहेको छ।

असार २९ देखि साउन २ गतेसम्म मुलुकभरि नै खोप लगाउन थालिएको हो। भेरोसेल ५५ वर्ष र सोमाथिका उमेर समूह तथा जोन्सन एण्ड जोन्सन खोप ५० देखि ५४ वर्ष उमेर समूहका सबै नागरिकलाई लगाइँदैछ। सरकारले १८ वर्षभन्दा माथिका कूल दुई करोड २० लाख जनसंख्यालाई खोप लगाउने लक्ष्य लिएको छ।

नेपालमा अहिलेसम्म पहिलो मात्रा २६ लाख २१ हजार ४७६ र दोस्रो मात्रा ११ लाख आठ हजार ८६८ ले लगाइसकेका छन्। यहाँ कोभिशिल्ड, भेरोसेल र जोन्सन एण्ड जोन्सन खोप लगाइएको छ। रासस