‘ओली’ को विकल्प ‘ओली’ नै !

  • प्रकाशित मिति : May 10, 2021
  • लोकतान्त्रिक संवाददाता

२७ वैशाख, काठमाडौं । प्रधानमन्त्री ओलीले आज संसदमा विश्वासको मत लिंदै छन् | उनले विश्वासको मत पाउने सम्भावना अत्यन्त न्यून रहेको छ | यदि उनले विश्वासको मत पाउन नसकेको खण्डमा पनि उनि नै प्रधानमन्त्री हुने सम्भावना रहेको छ |

संविधानको धारा ७६ मा सरकार गठनका विभिन्न विकल्प छन् । संसदमा कुनै पनि दलको एकल बहुमत नभएकाले धारा ७६ (१) अनुसारको सरकार बन्ने सम्भावना छैन ।

त्यसैले प्रधानमन्त्रीले विश्वासको मत नपाएमा राष्ट्रपतिले संविधानको धारा ७६ (२) अनुसार दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमतको सरकार बनाउन दलहरुलाई आह्वान गर्नुपर्नेछ । यसरी बहुमत पुर्‍याउने कुनै दलको संसदीय दलको नेतालाई राष्ट्रपतिले प्रधानमन्त्री नियुक्त गर्नुपर्नेछ । तर यो व्यवस्था अनुसार पनि नयाँ सरकार गठनको सम्भावना अहिलेलाई टरेको छ ।

यदि एमालेको माधवकुमार नेपाल समूहका सांसदहरुले राजीनामा दिएको भए प्रतिनिधिसभामा सांसद संख्या कम हुन्थ्यो र कांग्रेस, माओवादी केन्द्र र जसपाको (बाबुराम–उपेन्द्र) पक्षको मतका आधारमा बहुमतको सरकार गठन हुन सक्थ्यो ।

यद्यपि जसपा सिंगो पार्टी नयाँ सरकार गठनको पक्षमा नउभिंदा त्यो दाबीले मान्यता पाउने वा नपाउने बहस पनि थियो । तर नेपाल समूहका सांसदहरुको राजीनामा रोकिएसँगै धारा ७६(२) अनुसार बहुमतको सरकार गठनको सम्भावना टरेको छ । किनकि कांग्रेस, माओवादी केन्द्रका सांसदले मात्र नयाँ सरकार गठन गर्न सक्ने सम्भावना छैन ।

दलहरुले बहुमतसहित नयाँ सरकार गठनका लागि दाबी नगरेपछि सरकार गठन प्रक्रिया संविधानको धारा ७६ (३) अनुसार हुनेछ । जसमा दुई वा दुईभन्दा बढी दल मिलेर सरकार बनाउन नसके वा यसरी बनेको प्रधानमन्त्रीले विश्वासको मत प्राप्त गर्न नसके राष्ट्रपतिले संसदको सबभन्दा ठूलो दलको संसदीय दलको नेतालाई प्रधानमन्त्री नियुक्त गर्ने व्यवस्था छ ।

संसदको सबभन्दा ठूलो दल एमालेको संसदीय दलको नेता केपी शर्मा ओली भएकाले धारा ७६ (३) अनुसार उनी फेरि प्रधानमन्त्री हुनेछन् । त्यसैले अब फेरि ओली नै प्रधानमन्त्री बन्नेछन् ।

यसरी नियुक्त भएको प्रधानमन्त्रीले ३० दिनभित्र संसदबाट विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ ।