काठमाडौँ र पोखरा गोलरहित बराबरीमा

  • प्रकाशित मिति : May 1, 2021
  • लोकतान्त्रिक संवाददाता

१८ बैशाख, काठमाडौँ | काठमाडौँ रेजर्स र पोखरा थन्डर्सले राजधानीमा जारी नेपाल सुपर लिगमा आज गोलरहित बराबरी खेलेका छन्।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न खेलमा दुबै टोलीले राम्रा अवसर सदुपयोग गर्न नसक्दा बराबरी खेलेका हुन्। बराबरी खेलेका दुबै टोलीले एक–एक अंक बाँडेका छन्। दुबै टोलीले तीन खेलबाट चार अंक बनाएका छन्।

निकै प्रतिस्पर्धात्मक बनेको खेलमा पोखरा थन्डर्सले पहिलो हाफमा दबाब दिएर खेलेको थियो। यद्यपि काठमाडौँ काउन्टर एट्याक गर्ने प्रयास गरे पनि पोखरोको रक्षापंक्तिलाई चिर्न सकेन।

दोस्रो हाफमा फरक रणनीतिका साथ खेल देखाएको काठमाडौँका धेरै प्रयास खेर गएका थिए। स्पष्ट जितको लक्ष्यका साथ मैदान उत्रिएका दुबै टोलीले आक्रमक सुरुआत गरेका थिए।

तेस्रो मिनेटमा काठमाडौँका स्टेफन बियोङले पेनाल्टी बक्स बाहिरबाट प्रहार गरेको बल गोलपोस्ट नजिकैबाट बाहिरिएको थियो। पोखराका मौसा अब्बाले छैठौं मिनेटमा सुनौलो अवसर गुमाए। पेनाल्टी क्षेत्रबाट गरेको फितलो प्रहार काठमाडौँ रेजर्सका कप्तान तथा गोलकिपर विकेश कुथुले सहजै नियन्त्रणमा लिएका थिए।

दोस्रो हाफको अन्तिमतिर पोखराले काउन्टर गर्दै स्पष्ट जित निकाल्न प्रयास गरे पनि सफल हुन सकेन। खेलको इन्जुरी समयमा पोखराका प्रविन स्याङतान हेडरमार्फत गोल गरेपनि रेफ्रिले अफसाइडको संकेत दिएका थिए।

खेलमा पोखराका पदम मोक्तान प्लेयर अफ दि म्याच चुनिए। उनले २५ हजार प्राप्त गरे। इमर्जिङ प्लेयर अफ दि म्याच काठमाडौँका राजन गुरुङ चुनिए। उनले १० हजार प्राप्त गरे।

यससँगै काठमाडौँ रेजर्स र पोखरा थन्डर्सले जारी लिगमा पहिलो बराबरी खेलेका छन्। यसअघिका खेलमा दुबैले एक खेल गुमाउँदा एक खेलमा नतिजा निकालेका थिए। प्रतियोगितामा शनिबार दुई खेल हुनेछन्। पहिलो खेल धनगढी फुटबल क्लब र एफसी चितवन तथा दोस्रो खेल बुटवल लुम्बिनी र विराटनगर सिटी फुटबल क्लबबीच खेल हुनेछ।