मनाङ्गेको शपथसंगै कम्युनिष्ट आन्दोलन नयाँ मोड र उचाई पुग्यो – एमाले

  • प्रकाशित मिति : April 30, 2021
  • लोकतान्त्रिक संवाददाता

१६ पोखरा, वैशाख । ज्यान मार्ने उद्योगदेखि विभिन्न आरोपमा मुद्दा खेप्ने र सांसद बनिसकेपछि पनि विवादमा आइरहने मनाङे कम्युनिष्ट आन्दोलन, संघीयता र निष्ठाको पक्षमा वकालत गरिरहने मुख्यमन्त्रीबाट मन्त्री बक्सिस् पाउनु धेरैका लागि अपत्यारिलो थियो । ‘यो राजनीति हो, दलीय राजनीतिमा यस्तो हुने कुरा नै हुन्’ एमाले सचेतक मायानाथ अधिकारीले भने, ‘एउटा सांसद मन्त्री बन्नु स्वाभाविकै कुरा हो ।’

जिल्ला प्रशासन कार्यालय कास्की प्रांगणमा रहेको प्रदेश नीति तथा योजना आयोगको हलमा सांसद मनाङेले शपथ खाने कार्यक्रम थियो । शपथको तयारी भइरहँदा एमाले सांसद तथा विधान समितिका सभापति मोहन रेग्मीले ठट्टा गर्दै थिए, ‘अब कम्युनिष्ट आन्दोलन नयाँ मोड र उँचाइमा पुग्यो ।’

एमालेकै संसदीय दलको बैठकमा आइरहेका मनाङेलाई मन्त्री बनाउनु सरकारको उपलब्धिमै पर्ने अधिकारीको तर्क छ । कास्कीका सांसद कृष्ण थापाले सरकार टिकाउने र उपलब्धि हासिल गर्ने योजनाका साथ उनलाई मन्त्री बनाएको तर्क गर्छन् ।

राप्रपा हुँदै एमाले र पछि फेरि नेकपा प्रवेश गरेका मनाङ्गेलाई भइरहेको मन्त्रालय फुटाएर मुख्यमन्त्रीले युवा तथा खेलकुद मन्त्री बनाउनुपर्ने कारण के होला त ? प्रदेश प्रमुख अमिक शेरचनबाट युवा तथा खेलकुद मन्त्रीको शपथ खाएपछि स्वयं मनाङेले नै भनिरहेका थिए, ‘यो देशमा धेरै काम गर्नै पर्दैन नि ।’

मन्त्रीको शपथ लिएपछि मनाङ्गेले बुधबार प्रदेशसभामा अनुपस्थित हुनुको राज खुलाएका छन् । मनाङ्गेेको भोट नपाउने सम्भावना भएपछि मुख्यमन्त्री गुरुङले उनलाई आफ्नो पक्षमा भोट नहाल्ने भए अरुलाई पनि नदिन सुझाए । गुरुङसँग कुरा भएको स्वीकार गर्दै उनले भने, कम्प्रमाइज भयो, आउनै पर्दैन भन्ने भयो ।’

स्वतन्त्र सांसदका रुपमा निर्वाचित हुन पृथ्वीसुब्बा गुरुङले आफूलाई गुन लगाएकाले आफूले पनि सहयोग गरेको उनले बताए । त्यसरी सहयोग गरेपछि शुक्रबार बिहान मुख्यमन्त्रीले मन्त्री बन्न प्रस्ताव गरेको मनाङ्गे आफैंले बताए ।

एमाले नेताहरुका अनुसार बुधबार सरकार जोगाउन मदत गरेको गुन तिरेको त हो नै, भोलिका दिनमा पनि सुरक्षित रहने प्रयासमा मनाङ्गेलाई मन्त्री बनाइएको हो ।

अब प्रदेशसभामा मुख्यमन्त्रीको विपक्षमा कांग्रेस, माओवादी केन्द्र, जनमोर्चा र जसपा एक भए मात्र बहुमत पुग्छ । कुनै एक सदस्यले मात्र फ्लोर क्रस गर्ने हो भने अविश्वासको प्रस्ताव फेल हुन्छ । मनाङ्गेलाई मन्त्री नबनाउँदा उनले अविश्वासको प्रस्तावमा मत दिनसक्ने र फ्लो क्रसले पनि सरकार नटिक्ने अवस्था आउनसक्ने आकलन गरेर यो कदम चालिएको नेताहरु बताउँछन् । एमालेका एक सांसदले भने, ‘मनाङेलाई मन्त्री बनाएएपछि मुख्यमन्त्रीको पक्षमा २८ सांसद भए । अब एक जना विपक्षी सांसदले फ्लोर क्रस गरे भने अविश्वासको प्रस्ताव फेल हुन्छ र सरकार जोगिन्छ ।’

हुन त खिमविक्रमले बिहीबार वक्तव्य जारी गर्दै पार्टीको निर्णयप्रति प्रतिवद्ध रहेको बताएका छन् । तर उनले मुख्यमन्त्रीकै पक्षमा मत हाल्ने एमाले सांसदको दाबी छ ।