गुल्मीमा कोरोना परीक्षण रोकियो

  • प्रकाशित मिति : April 28, 2021
  • लोकतान्त्रिक संवाददाता

१५ वैशाख, गुल्मी । महामारीका बेला कोरोनाको परीक्षण देशभर भइरहँदा गुल्मीमा भने कोरोना परीक्षण रोकिएको छ । लुम्बिनी सरकार आफ्नो सरकार जोगाउने दौडधुप मै व्यस्त छ |
प्रयोगशाला सञ्चालनका लागि आवश्यक बजेट र जनशक्ति अभावको कारण देखाउँदै कोरोना परीक्षण रोकिएको हो ।

गत वर्ष कोरोनाले महामारीको रुप लिन थालेपछि जिल्लाका स्थानीय तहको सहयोगमा जिल्लामै स्वाब परीक्षण गर्ने उद्देश्यले स्थापना गरिएको प्रयोगशाला बन्द भएको हो ।

प्रयोगशालामा काम गर्दै आएका चार जनाले कोभिड भत्ता र १० जनाले तलब–भत्तासमेत पाएका छैनन् । जिल्लाका सरोकार पक्षले स्वास्थ्यकर्मीलाई रु ३० लाख भुक्तान गर्न अझै बाँकी छ ।

परीक्षण प्रयोगशाला बन्द भएपछि अब स्वाब परीक्षणका लागि पुनः रुपन्देही पठाउनुपर्ने भएको छ । यस सम्बन्धमा रेसुङ्गा नगरपालिकाका नगर प्रमुख डिल्लीराज भुसालले प्रयोगशाला तत्काल सञ्चालनमा ल्याउन नसक्ने प्रतिक्रिया दिए । प्रयोगशाला धेरै खर्चिलो हुने र पहिलेकै कर्मचारीलाई तलब दिन नसकिएकाले तत्काल सञ्चालनमा नआउने उनको भनाइ छ ।

जिल्ला कोरोना सङ्कट व्यवस्थापन केन्द्रले प्रयोगशाला सञ्चालनका लागि प्रदेश सरकारसँग बजेट माग गर्ने र दीर्घकालीन रुपमा सञ्चालन गर्नका लागि केन्द्रीय सिसिएमसीलाई अनुरोध गर्ने निर्णय गरेको छ । जिल्लामा कोरोना सङ्क्रमणको दर बढ्दै जाँदा अहिले जिल्लामा ७६ सक्रिय सङ्क्रमित छन् भने चारको मृत्यु भएको छ ।