रजतपट कार्यक्रम संचालक प्रकाश सुवेदीको कार्यक्रम अब युट्युबमा

  • प्रकाशित मिति : April 26, 2021
  • लोकतान्त्रिक संवाददाता

१३, बैशाख काठमाडौँ | एपीवान टेलिभिजनले निलम्बन गरेको कार्यक्रम रंग पत्रकार प्रकाश सुवेदीले युट्युबमा प्रशारण गरेका छन्।

नायिका शिल्पा पोखरेल र निर्माता छवि ओझाबिचको सम्बन्ध बिच्छेदको मुद्दाका विषयमा प्रशारण गरेको कार्यक्रमले मानहानी गरेको भन्दै शिल्पा पोखरेलले एपीवान टेलिभिजनमा उजुरी दिएकी थिइन्। उजुरीपछि टेलिभिजनले कार्यक्रमलाई निलम्बन गरेको थियो।

सुवेदीले रजतपट टीभि नामक युट्युब च्यालनबाट उक्त कार्यक्रम प्रशारण गरेर स्पष्टीकरण दिएका छन्। साढे १६ मिनेट लामो उक्त कार्यक्रममा सुवेदीले कार्यक्रम निलम्बनमा परेको कारण र विवरण खुलाएका छन्।

चैत २६ गते प्रशारण भएको कार्यक्रमको चैत ३० गते उजुरी परेको थियो। त्यसपछि शिल्पालाई कार्यक्रममा बोलाएर स्पष्टिकरण लिन लगाउने भनिएको सुवेदीले बताएका छन्। त्यसपछि बैशाख ५ गते निर्णय गर्ने भनेर सुवेदीले जानकारी पाएको उनले कार्यक्रममा बताएका छन्।

यसै बिचमा बैशाख २ गते उनले छवि ओझाको अन्तर्वार्ता ग्ल्यामर गफमा प्रशारण गरे। शुक्रबार रजटपटको अर्को एपिसोड प्रशारण हुने तयारीमा थियो। तर छविलाई पाहुना बनाएर ल्याएको कार्यक्रम प्रशारण गरेपछि एपिवान टेलिभिजनले यो कार्यक्रमलाई निलम्बन गरेको सूचना पठायो।

सुवेदीले आफूहरुबिच बुझाई फरक भएको बताउँदै कार्यक्रमका अतिथिको बारेमा टेलिभिजनका अपरेशन निर्देशक सुरेश पौडेल र समाचार प्रमुख टिकाराम यात्रीलाई जानकारी रहेको बताएका छन्।

यो भन्दा अगाडि नायिका पूजा शर्माले यस कार्यक्रम विरुद्ध मुद्दा हालेकी थिइन्। त्यो बेला समझदारीमा टुगिंएको थियो। अहिले भने एपीवान टेलिभिजनले यो कार्यक्रमलाई निलम्बन गरेको छ। कार्यक्रम कहिलेसम्म निलम्बन गर्ने भन्ने बारे च्यानलले जानकारी गराएको छैन।