हावाहुरी र चट्याङ सहित पानी पर्ने

  • प्रकाशित मिति : April 22, 2021
  • लोकतान्त्रिक संवाददाता

९ वैशाख, काठमाडौं । स्थानीय र पश्चिमी वायुको प्रभावले गण्डकी प्रदेश, राजधानी सहित पूर्वी भेगमा समेत पानी परिरहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

काठमाडौं उपत्यकामा पानी पर्ने क्रम केही घण्टापछि रोकिने अनुमान भएतापनि पूर्वी भेग झापा मोरंग तिर भने दिउसै अन्धकार भएको छ । बिहान पौने ६ बजे गरिएको मापनअनुसार काठमाडौंमा १.८ मिलिमिटर पानी परेको छ । ‘पश्चिमी वायुको सिस्टमको मुभमेन्ट छिटो छ र यो पूर्वउत्तरतिर सरिरहेकाले केहीबेरमै पानी पर्ने क्रम रोकिन्छ’, मौसमविद प्रतिभा मानन्धरले भनिन् ।

मौसमविदका अनुसार आज दिनभर देशैभर बादल लाग्ने र पानी पर्ने क्रम चल्ने सम्भावना छ । पश्चिम क्षेत्रमा भने भोलि पनि मौसम बदलीसँगै वर्षाको सम्भावना छ ।

अहिले प्रिमनसुन अवधि भएकाले केही स्थानमा हावाहुरी र चट्याङ समेत पर्ने भएकाले सतर्कता अपनाउन मौसमविद्ले आग्रह गरेका छन् ।