बाख्राफार्ममा आगलागी हुँदा ६५ लाखको क्षति

  • प्रकाशित मिति : April 18, 2021
  • लोकतान्त्रिक संवाददाता

५ वैशाख,झापा। झापाको बुद्धशान्तिमा शनिबार राति एउटा बाख्रा फार्ममा आगलागी हुँदा ४० वटा बोयर जातका बाख्रा जलेका छन्।

राति साढे १२ बजे लागेको आगोले बुद्धशान्ति गाउँपालिका ४ देवीबस्तीका ज्योति विमलीको बाख्रा फार्मका सबै बाख्रा जलेर मरेको जिल्ला प्रहरी कार्यालय झापाले जानकारी दिएको छ।

इँटा, काठ र टिनको छानो भएको एक तले बाख्रा फर्ममा अचानक आगो फैलिँदा ६५ लाख मूल्य बराबरका बाख्रा र बाख्रालाई खुवाउने दाना जलेर नष्ट भएको प्रहरीको अनुमान छ।

जिल्ला प्रहरी कार्यालय झापाको अनुमानमा आगलागीबाट करीब ६५ लाख रुपैयाँ बराबरको सम्पत्ति जलेको हो।

नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्थानीयबासी र विर्तामोड र भद्रपुर नगरपालिकाका दमकलको सहयोगमा पौने तीन बजे आगो नियन्त्रणमा आएको थियो।