खुवालुङ के हो ? किन हुँदै छ एउटा ‘ढुंगा’ को लागि यत्रो बहस ?

  • प्रकाशित मिति : March 21, 2021
  • लोकतान्त्रिक संवाददाता

८ चैत, काठमाडौँ। खुवालुङ के हो ?

किराती भाषामा “ख्वा वा खुवा” को अर्थ बारम्बार गाईने वा धाइने ठाँउ भन्ने हुन्छ । कालान्तरमा पछि यही ख्वा शब्द अपभ्रंश भई खेवा/खुवा भएको हुन सक्दछ । खुवा शब्दसँग आउने “लुङ” को अर्थ नेपालीमा ढुंगा भन्ने हुन्छ ।

यसकारण बारम्बार गाइरहने बिशेष ढुंगा भएको ठाँउनै खुवा लुङ प्रदेश नं १ को धनकुटा,भोजपुर र उदयपुर जिल्लाको सिमाना जहाँ अरुण , तमोर र दुधकोशी नदीको संगमस्थल त्रिवेणीमा रहेको छ ।

समग्रमा भन्नु पर्दा धनकुटा, भोजपुर र उदयपुर जिल्लाको सिमानामा रहेको तीन ठूला नदीहरुको त्रिवेणी नै खुवालुङ हो । वास्तविक लुङ चाँहि तमोर र अरुण दुधकोशी ठिक भेट हुने स्थानको पानीमुनि अवस्थित छ ।

जुन ढुंगा चैत वैशाख महिनामा नदीको पानी घटेको अवस्थामा अलिअलि देखिन्छ । स्थानीय दुर्गालाल राई र शंकर तमाङका अनुसार उक्त लुङ ताबे रङ्गको र आकृति सर्पले फंडा फुलाए र ठडिए जस्तो गरी दक्षिणतर्फ ठडिएर पानीभित्र बसेको छ । जुन लुङ जहिले पनि पानीमुनी नै रहन्छ ।

अहिले आएर किन हुदै छ यसको अचानक चर्चा ?
गत ८ फागुनमा प्रधानमन्त्री केपी ओलीले विराटनगर आमसभालाई सम्बोधन गर्ने क्रममा उनले अचानक पानीजहाजको विषयलाई लिएर भनिदिए, ‘पानीजहाजले चतराबाट ११ मिनेटमा भोजपुर पुर्‍याउँछ र ल्याउँछ ।

त्यहाँ बाधा भएको एउटा ढुंगोलाई क्रेन लगाएर फुटाउँदै छौँ र नदीको बाटो क्लियर गर्दै छौँ ।’ उनले संकेत गरेको ढुंगो त्यही ढुंगो थियो, जुन ढुंगो किराती समुदायको आस्थाको केन्द्र रहेको पाइन्छ । त्यही ढुंगोलाई लिएर बनेका मिथक र कथनहरूबाट किराती सभ्यता र संस्कृतिको फेहरिस्त निस्कन्छ ।

किन खुवालुङ ढुङ्गा फुटाउने घोषणा भयो त ?
कोशी करिडोर हुँदै पहाडका विभिन्न स्थानमा डुंगा संचालन गर्ने उद्देश्यका साथ् उक्त ‘ढुंगो’ फुटाउने योजना बेलाका नगरपालिका तथा प्रदेश सरकारले गरेको थियो |

उक्त ढुंगा नदीको बिचमा भएको साथै डुंगा संचालनका क्रममा उक्त ढुंगाले अफ्ठेरो बनाउने भएकोले जल यातायात संचालन गरी पर्यटन, र्‍याफ्टिङ, सामानहरू ढुवानी गर्ने उद्देश्य रहेको बेलाका नगरपालिका प्रमुख दुर्गाकुमार थापा बताउँछन |

कसले गर्दैछन् त बिरोध ?

प्रधानमन्त्री ओलीको अभिव्यक्तिपछि उत्तेजित बनेका किरात समुदायका अभियन्ताहरूले अहिले सामाजिक सञ्जालमा सक्रिय रूपमा विरोध गरिरहेका छन् ।

खुवालुङको ऐतिहासिकता, त्यसको सांस्कृतिक महत्व र क्रेन लगाउन लागिएको उक्त ढुंगोसँग जोडिएको आस्थालाई लिएर बहस भइरहेको छ ।

गत माघेसंक्रान्तिमा खुवालुङ पुगेर अभियन्ताहरूले ‘खुवालुङ संरक्षण समिति’ गठन गरे । तर, राज्यको अतिक्रमणबाट जोगाउन अभियन्ताहरू निकैअगाडिदेखि नै लागिपरेका थिए ।

ओलीले दुई वर्षअघि पानीजहाजको सपना बाँडेपछि नै किरात समुदाय त्रसित बनेको संरक्षण समितिका सदस्य दिनेशकाम्दुङ राई बताउँछन् । ‘त्यसवेलादेखि नै हामी सशंकित बनेका थियौँ ।

अहिले त राज्यले बजेटै छुट्याएर ढुंगो फुटाउन खोजिरहेको छ । हाम्रो आस्थामाथि प्रहार गर्न खोजिरहेको छ,’ दिनेश भन्छन्, ‘प्रधानमन्त्रीजस्तो गरिमामय ओहोदामा बसेको मान्छेले कुनै समुदायको आस्थामाथि चोट पर्ने गरी अभिव्यक्ति दिनु लज्जास्पद र निन्दनीय विषय हो । राज्यलाई हरेक खालको सूचना हुन्छ, तर खुवालुङबारे किन थाहा भएन ।’

के हुन्छ त अब ?
ढुंगा फुटाउनका लागि प्रदेश १ सरकारले बजेट विनियोजन गरिसकेको छ । यस प्रोजेक्टलाई प्रदेश सरकार आफैँले हेर्ने तर, विकासको नाममा कुनै पनि आमकिराती समुदायको आस्थाको केन्द्रलाई ध्वस्त बनाउन नहुने बताउँछन् लेखक तथा अभियन्ता राजन मुकारुङ ।

भन्छन्, त्यो ढुंगा सदियौँदेखि नदीको बहाव र छालले हान्दा पनि जहाँको तहीँ छ । त्यो त एन्टिक चिज हो, हामीले बचाउनुपर्छ । अब त्यो ढुंगो मुलुककै सांस्कृतिक सम्पत्ति हो ।’ त्यही ढुंगोले मात्रै विकासलाई रोकेको मान्दैनन् उनी ।

नदीको बाटो छेउबाट खोलेर पनि डुंगा चलाउन सकिने बताउँदै उनी भन्छन्, ‘तर, त्यही ढुंगा फोर्न राज्य तम्सिन्छ भने प्रतिरोध गरिन्छ ।