रोहिणी

  • प्रकाशित मिति : February 14, 2021
  • इन्द्र लम्साल

पहिलोपटक रोहिणीलाई कलेजको लाइब्रेरीमा देखेको थिएँ । त्यति बिछट्टै राम्री पनि होइन तै पनि सार्है मन पर्‍यो । केटी मान्छेले मनमा तरंग ल्याइदिन्छन् भन्‍ने सुनेकी थिएँ, त्यो दिनदेखि म पनि सिकार बने । सकेसम्म नजिक भए । दुई महिनामै हामी खुब नजिकियौँ । मैले उसको खाजा जुठो पारिदिएको दिन मलाई याद छ । जुठो खानु हुँदैन माया बढ्छ रे उ भन्दै गइ । म यही खोजिरहेको छु, मलाई भन्‍न मन थियो, भनेको पनि थिए तर मनमनै । खासमा प्रेम दुबैमा थियो, तर अव्यक्त । उसले प्रेम गर्छे मलाई थाह थियो, मैले गर्छु उसलाई पनि थाह थियो तर व्यक्त भएको थिएन ।

केटीमान्छेले प्रेममा औपचारिकता खोज्‍ने रहेछन् । उ मलाई औपचारिकता दिलाउन संकेत दिन्थी । म पहिलोपल्ट प्रेमी बन्‍ने तयारीमा तर साह्रै कच्चा । म चाहन्थे उसैले गरे पनि हुन्छ, व्यक्त प्रेम । उसले यो काम त केटाहरूको हो केटाले भनेको राम्रो देखिन्छ, भन्थी । एकदिन डराइ-डराइ आँट गरेर भनिदिए म तिमीलाई प्रेम गर्छु ।

औपचारिक बनेसँगै सम्बन्ध गहिरिँदै गयो । उसको पहिला पनि एकजना प्रेमी रहेछन् +२ पढ्दा । कक्षामा सबैभन्दा जान्‍ने केटा तर नराम्रो थियो रे, मैले पनि एकपटक फोटो हेरेको साँच्चै राम्रो लागेन । १२ कक्षा सकिएसँगै सम्बन्ध सकिएको रे ! केटो प्रेममा परेछ, कहिलेकाँही फोन गर्थ्यो तर रिसिभ कहिल्यै भएन । एउटा केटी कतिसम्म अवसरवादी हुन सक्छे भन्‍ने कुराको पर्याप्त उदाहरण हो यो ।

हामी नजिकिएको पनि दुई वर्ष भएछ । दुइवर्षमा ममा निकै परिवर्तन आयो । आज पोशाक मिलेन, यस्तो किन्‍नुस् । भोलि अरु केही मिलेन । उसको चाहना अनुसार म बदलिँदै गएँ । एकदिन विनाकारण उसले भनी तपाईं अचेल पहिलेजस्तो हुनुहुन्‍न, त्यो साँचो हो । साँचो यो पनि हो कि उसकै रोजाइको बन्दै जाँदा म बदलिएको हो । अनि विभिन्‍न बाहानामा खटपट सुरु हुन थाल्यो । भेटघाट फितलो अनि खटपटले सजिलै बुझ्‍न सकिन्थ्यो कि सम्बन्ध लामो हुँदैन । उसको चाहना पातलिँदै गएको सजिलै बुझ्‍न थाले र म सम्बन्ध चाहन्थे । लाग्यो अब उसलाई मबाट पाउनुपर्ने केही पनि बाँकी छैन । सम्बन्धको अनौपचारिक अन्त्य भयो । प्रेम गर्दागर्दै म अलग्गिए । मैले नै सम्बन्ध अन्त्यको औपचारिक घोषणा गरिदिए, दाइ ।

तेस्रो भेटमा रोहितले यो सब कुरा सुनायो । खासमा रोहित मेरो नजिकैको साथी बनिसकेको थियो तर पनि उ मलाई दाइ भनेर सम्मान गर्थ्यो । हेर्दा सामान्य देखिने रोहित भित्रको प्रेम कहानी निकै कहालीलाग्दो देखियो । उ बोल्दै गयो;

त्यसको दुई महिनामै उसले बिहे गरि । उ त राम्रो खोज्‍ने मान्छे हो, तर खै किन बिहे गरेको केटा उसको +२ को प्रेमीभन्दा पनि नराम्रो छ । तपाईंले बुझिसक्नु भयो, होला उसले किन बिहे गरि ।

बिहेपछि उसको जीवन एकाएक बदलियो, बिहे अगाडि मन बदलिए जस्तै गरि । रात्रीबसको लामो पट्यारलाग्दो यात्रा जहाजमा बदलियो । भाडावालाबाट एकैपटक घरभेटी । आहा ! क्या जिन्दगी । उसलाई देखेर लाग्यो जिन्दगीमा नारी हुनुको एउटा असल अनि सबल पक्ष यही हो ।

रोहितले आफ्नो रोहिणीका केही तस्बिर देखायो । उसकी पूर्वप्रेमिकाको नाम रोहिणी थियो । क्रमशः उसको पहिलो प्रेमी अनि पतिको फोटो पनि देखायो । केटी सुन्दर थिइ तर त्यति चम्किलो अनुहारको बाहिर अवसरवादको कालो बादलले घेरा हालेको थियो । मलाई लाग्यो यी तीन पुरुषमध्ये रोहित हरेक नजरको पहिलो रोजाइमा पर्छ ।

अनि म पनि बिहे गर्ने धारणामा पुगे । व्रतबन्ध भएको थिएन, वैशाखमा व्रतवन्ध गराउन घर गए । जोगीको रुपधारण गरेर भिख माग्दै हिँडियो । भिख आफ्नाहरुले दिएका थिए, केही रुपैयाँ र एकमुठ्ठी चामल । अनि सोचेँ – एकछिन भिक्षा माग्दा आफन्तहरू नै एकमुठी मात्र दिन्छन् भने साधुहरु भिख मागेर कसरी जीविका चलाउछन् होला । दाइ हरेक जीवनका दुःख अलग छन् ।

व्रतबन्ध गरेर राजधानी फर्किएँ । एक हुल साथीहरू पर्खेर बसेका थिए । ब्राह्मणले कानमा जाडरक्सी नखानु भनेर फुकेको छैटौं दिनमै मुखमा रक्सी पर्‍यो । व्रतवन्धको पार्टी भनेर । सुरुवाती दिनहरुमा जनै निकालेर खाइयो । पछि कानमा राखेर अहिले त जनै लगाएरै पनि जान्छ । एकदिन दाजुभाइ बसेर रमाइलो गर्नुपर्छ दाइ । रोहित भन्दै गयो ।

धेरैपछि राति चयनले निदाउन सिकेको थिए, दाइ । पहिले रातभर उसको यादमा अनिदो बसेको याद छ, तर कुलतमा फसिएन । फस्छु कि डर लागेको थियो । भाग्यमानी रैछु । समय राम्रै चलिरहेको थियो, एक्कासी एकदिन पुतलीसडकमा रोहिणीसँग भेट भयो । उसँग सिन्दुर, चुरा केही थिएन । म अलमलमा परे । नबोल्ने सोचेर अगाडि बढेँ । उ नजिकै आएर बोली । बोली सुनेपछि पाइला अघि बढ्नै सकेन । चिया खाने अनुरोध गरि । निकै पछिको भेट केही गफगाफ भयो । उसको जिन्दगी सुनेर त्यो दिनदेखि फेरि म चयनले निदाउन सकेको छैन, दाइ । म अहिले यो सब बताउन सक्दैन । एकदिन नशामा भनौला । दाजुभाइ बस्‍नुपर्छ ।

यति भनेर रोहित बिदा भयो ।

रोहिणी दोस्रो भाग,

खासमा म तिमीसँग मुख देखाउन लायक छैन, तैपनि अकस्मातको यो भेट सार्थक बनाउन चाहन्छु । रोहिणीले मलिन मुद्रामा भनी । वास्तवमा तिमीले आकस्मिक ठानेको यो भेट आफैँमा आकस्मिक होइन, योजनाबद्ध हो । म फुर्सदमा तिमी हिँड्ने बाटो छेउछाउ बसिरहेकी हुन्छु । तिमीलाई देखेको यो दोस्रोपटक हो । पहिलोपटक तिमी साथीहरूको हुलमा थियौ । बोलाउनै सकेन । तिमी त बेवास्ता गर्दैनौ, थाहा थियो तर साथीहरू उनीहरुले साँच्चै मलाई नराम्रो सोच्छन् । मलाई थाह छ, मैले केही गल्तीहरु गरेको छु । मेरा प्रायः साथीहरूले रोहिणीलाई चिनेका छन्, मैले गरेको प्रेम उनीहरुलाई पनि थाह छ । उनीहरुले रोहिणी धोखेबाज हो एकदिन पछुताउछे तर यो समय निकै ढिलो भइसकेको हुनेछ भनेर निचोड निकालेका थिए । म यो बाटोमा एक घण्टा बिताउँछु, अन्तिम मिनेटसम्म तिमी भेटिन्छौ कि जस्तो आशा लाग्छ ।

मलाई म यहाँ कतिपल्ट आए याद छैन, तर म धेरैपटक यो बाटो कुरेर बसेको छु । आजको दिन सार्थक बन्यो । उ भन्दै गइ । चिया चिसो भयो खाउ, मैले उसलाई विचलित बनाए ।

चियामा सेतो दूधलाई चियापत्तीको रङ्ले फिका बनाइदिए जस्तै छ, मेरो जिन्दगी । चिसो भइसकेको चिया, आधा एकैपटक पिएर, उ बोल्दै गइ । चियामा दूधभन्दा चियापत्ती हावी हुन्छ । म पनि त चिया जस्तै छु । तिमीले स्वाद लिएर पियौ र अलिकति गिलासको पिँधमा पुगेपछि छोडिदियौ । मलाई भन्‍न मन थियो तर भनिन् । आज उसलाई सुन्‍नु थियो । मलाई थाहा छ उसले पहिले देखेजस्तै सुखसयलको जिन्दगी भेटेको भए अहिले मेरो अगाडि चिया पिउँदै गरेको भेटिन्‍नथी । मनमनै सोचे कति अवसरवादी हुन्छन् केटीहरु । अग्ला घरहरु बाहिरबाट देखिएको जस्तो स्वतन्त्र हुँदैनन् । रोहित, उचाइमा पुग्दैमा चराजस्तै स्वतन्त्र भइन्छ सोच्नु बेकार रहेछ । उचाइको चरा स्वतन्त्र देखियो उसको मेहनत देखिएन । पखेटाले कति हावा तलमाथि पार्‍यो चराले खुला आकासमा उभिन ! मनन गर्न सकिएन । मलाई रोहिणी पछुताउछे भन्‍ने थाहा थियो तर यति धेरै कल्पनासम्म पनि गरेको थिएन ।

यति भन्दासम्म रोहितले दुईवटा बियरको बोत्तल रित्याइसकेको थियो । म सुन्‍नुपर्ने र कथा पनि याद गर्नुपर्ने हुनाले एउटाको अन्त्य तिर थिएँ । दाइ खानुस् न भाइको दुःखमा साथ दिनुहुन्‍न ? उसमा बियरको मात प्रष्ट देखिन्थ्यो । बाँकी रहेको बियर एकै घुड्कीमा सिध्याएर अर्को खोले । अनि भनिदिए भाइको दुःख मेरो दुःख । एकछिनमा बाहिर घरभेटीको आवाज सुनियो । बाहिर कोहि छ कि गेट बन्द गरिदिउ ? मैले भित्रबाट छैन भनिदिए । रोहित एकछिन विस्तारै मैले औंलाले इसारा गरे ।

कोठामा होहल्ला निषेध थियो । अझै मलाई त विशेष । यो घरमा बस्‍नेमध्ये इन्द्र मात्र हो, सोझो एकदिन घरभेटीले तारिफ गरिसकेको थिए, अरु भाडावालाको अगाडि । चुरोट रक्सी केही खाँदैन । म चुरोट खाँदैन नै । कहिलेकाहीँ बियर खाने हो, त्यही पनि घरभेटीले असहज बनाइदिए । बियर खाएको बोत्तल फाल्न समस्या ! तारिफ गर्ने घरभेटीको अगाडि कबाडीलाई दिन पनि भएन खाली बोत्तल बोकेर आफैँ कवाडीजस्तो हिँड्न पनि सकिएन । खाटमुनी १२ र १४ वटा बोत्तल हुने निश्चित थियो ।

दाइ तपाईंको गर्लफ्रेन्ड छैन । मैले भने – छैन, भएको भए अहिलेसम्म कतिपल्ट फोन आइसक्थ्यो नि यसरी मजाले बसेर बियर खान कहाँ पाइन्थ्यो ? मेरो जवाफमा उ निकै जोडले हाँस्यो । अँ भन अनि के भयो मैले कुरा कोट्याए ।

हुन त अब २४ पुग्दैछु त्यही पनि ममा केटाकेटी बुद्धि रहेछ । आफन्त नै नजिकैका खतरनाक दुश्मन रहेछन् । अग्लो घरकी महारानी बन्‍ने सुनौला सपना बोकेर म जुन घरमा पुगेँ, त्यहाँ मलाई बहकाउन पहिले भनिएजस्तो वातावरण थिएन । एउटी काम गर्ने १२-१३ वर्षकी नानी थिइ । म पुगेको तेस्रो दिनमा उसले कामबाट बरखास्त हुनुपर्‍यो । त्यो ठाउँ मेरा लागि खाली गरिएको थियो । विवाहको पहिलो रात मेरो अहिलेसम्मकै कठिन समय बन्यो, करिब २ वर्षको सम्बन्धमा तिमीले कुनै दाग नलाएको मेरो जवानी लुटिने पक्का थियो । हो उ अधिकार पाएको मेरो श्रीमान हो, तर म त्यो साँझ तयार थिइन । उ बाघजस्तै मलाई झम्टिन आइपुग्यो । म आजको रात आफूलाई जोगाउन चाहन्थे । उसको श्वासबाट मदिराको गन्ध आइरहेको थियो, मलाई त्यो पनि मन परेन । उसले ममाथि जबर्जस्ती गर्न खोज्यो, मैले सकेसम्म प्रतिकार नभनौँ आफ्नो रक्षा गरेँ । यो लडाइँमा मैले तिमीलाई कैयौंपटक सम्झिए । म सफल भए । उ रिसले आगो हुँदै ममाथिबाट उठेर सोफामा पुग्यो । कुनै केटीलाई फोन गर्‍यो र भन्यो मैले बिहे गरेको भनेर चिन्ता नगर, यो बिहे अब रद्द भयो । केही समयपछि हामी बिहे गर्छौं, सायद त्यो उसकी प्रेमिका हुनुपर्छ । मलाई असह्य पीडा भयो, यति धेरै रोए ।
विवाहकै दिन श्रीमान यसरी प्रस्तुत हुँदा एउटी नवदुलही कति दु:खी हुन्छे ? कल्पना गर्न सक्छौ ?

पाँचौ दिनमा कोठामा अर्को विस्तरा थपियो । पतिपत्‍नी अलग विस्तरामा । उ हरेक रात मलाई जलाउन आफ्नी प्रेमिका सँग घण्टौं गफिन्थ्यो । तिमीले विवाहपछि भनेर जोगाइदिएका केही कुराहरु पूरा भएनन् । म नारीले बिहेपछि पाउने सुखको कल्पनामा हराउन थाले, त्यो कल्पनाको हरेक पलमा साथमा हुन्थ्यो एक पात्र रोहित ।

दाइ, म दुधको चिया पिउदैन उसँग भेटेपछि चिया भनेको पसलेले दुइचोटी दूधको चिया ल्याएको रहेछ मलाई याद भएन । तेस्रो पल्ट चिया मगाउँदा । उसले भनी ओहो तिमी त कालो चिया पिउँछौ । आज म पनि कालो खान्छु । यो पटक दुईवटै कालो चिया मगाइयो । खाना खाने समय भएर पसलमा ग्राहक पातलिदै थिए ।

त्यो घरमा मैले जबर्जस्ती मुस्कुराउनु थियो । सबैको रोजाइँको अलग्गै खाना तयार पारेपछि पनि खुवाइसकेर बल्ल आफूले खानु थियो । उ आफ्ना हत्केलामा भएका निलडाम देखाउँदै भन्थी, यी सब खाना पकाउदा डढेका हुन् । मेरो बिहेमा सबैभन्दा धेरै खुसी मेरी आमा हुनुहुन्थ्यो, उहाँले सोच्नुभयो छोरीले राम्रो घर पाइ । ड्याडीले एकपटक पनि के गर्छेस छोरी भनेर सोध्नुभएन । उहाँहरु म जन्मेको दिनभन्दा बिहेको दिन खुसी हुनुहुन्थ्यो जस्तो लाग्यो । मैले रोहिणीको ड्याडीलाई नजिकैबाट देखेको छु । करिब ७-८ मिटर नजिकबाट । उहाँले छोरीको बिहे गरेर आफू सफल बुबा बनेको सोच्नुहुन्छ होला तर छोरी यो हालतमा छ । म यो सब गरेर उहाँ चरम निद्रामा हुनुहुन्छ तर छोरी निदाउन सकेकी छैन । मागी विवाहमा आमाहरुको एउटै उत्तर हुन्छ- मैले पनि तेरो बुबालाई बिहे अगाडि चिनेको थिएन, अहिले सबै राम्रै छ त । उहाँ सोच्नुहुन्‍न कि न त बुबाको बिहे अघि कुनै प्रेमिका थिइन्, न आमाको प्रेमी । यति बुझाउन सक्यो भने सन्तानले रोहिणीको दिन भोग्‍नु पर्दैन ।

मैले धेरैपटक आत्महत्या प्रयास गरेँ । त्यसमा पनि मम्मी ड्याडी बाधक बन्‍नुभयो । सबैलाई सम्झिँदै जादा अन्तिम तिर उहाँहरुकै अनुहार आँखामा आउँथ्यो अनि सब योजना असफल । तर मर्छु भनेको बेला मैले तिमीलाई सम्झिन सकेन । सायद मम्मी ड्याडीबाट मृत्यु पास भइसकेको भए अन्तिममा तिमीलाई सम्झिन्थे होला, मेरो जीवनको मैले सम्झेको अन्तिम मान्छे भन्‍नलाई ।

दुई वर्षमा सबै जोड्ने हो भने करिब चार महिना जत्ति मैले रातपनि तिमीसँगै बिताएकी छु । छातीको सिरानी बनाएर म चयनले निदाएकी छु । तिम्रो इमानदारीको मूल्य म तिर्न सक्दैन । तिमीसँग म निसंकोच सुत्‍न सक्थे । तिमीजस्तो मान्छे यो धरतीमा जन्मिरहनु पर्छ । म अचेल निदाएको कयौं रात तिमीलाई माध्यम बनाएको छु । रोहिणी बोलिरहेकी थिइ ।

एकरात घरमा उत्सव थियो सबैजना मदिरामा झुमेका थिए । चिनजानका केही नन्दहरुले मलाइ पनि अलिकति वाइन खुवाए । मान्दै मानेनन् । मैले पनि खाए । नेपालले आइसीसीमा हङकङलाई जितेको दिन मैले भोड्का चाखेकी थिएँ । तर निल्न सकिनँ । त्यो खुवाउने मान्छे तिमी थियौ, मेरो अनुरोधमा । वाइन गुलियो रहेछ, भोड्काभन्दा कैयौं सजिलो । मैले केही गिलास थपे । केहिबेरमा म सुत्‍न गए । पछि मातेको एकजना मान्छे कोठामा प्रवेश गर्‍यो, नाताले मेरो श्रीमान । उ सरासर मेरो विस्तरामा आयो । मलाई खुसी लाग्यो । यसपटक कुनै अवरोध नगरि मौन स्वागत गरे । अलि छेउमा सरेर उसलाई बस्‍न सजिलो पारिदिए । म पहिलोपटक नारी भए, कसैको श्रीमती अब ममा ‘केटी’ भन्‍नुपर्ने कुनै चिज बाँकी थिएन । तर अपसोच कल्पनामा र सत्यतामा ममाथिको पुरुष फरक थियो । केही मिनेटको यो अवधिमा मैले एकपल पनि तिमीलाई बिर्सन सकेन ।

यति भन्दासम्म रोहितको अगाडि चौथो बियर रित्तो भइसकेको थियो, म दोस्रोमा थिएँ । आधा दर्जन बोत्तल रित्ता बनिसकेको थिए । रोहित लर्बराइसकेको थियो ।
अब जानुपर्छ । घरमा सबै आइसके होलान् । उ आत्तिएको देख्‍न सकिन्थ्यो । जानुपूर्व म उसलाई एकपटक जोडले अँगाल्‍न चाहन्थे । तर सकेन । फेरि भेट्दा कुरा गरौंला । उ मेरो फोन नम्बर लगेर बाहिरिइ । म थप एक कप लेमन टी पिउँदै बसे ।

दाइ पिशाब गर्न जाउ । रोहितले खुट्टा टेक्नै सकेन , मैले उसलाई शौचालयमा लगिदिए । भित्ताको साहरामा उभिएर चुकुलै नलगाई उसले एक लिटरभन्दा धेरै बियर घोप्ट्यायो । एक बज्‍न थालेछ । म अब फेसबुक चलाउँदैन । उसको फोटो देखिन्छ मा…या लाग्छ या…र दाइ त्यस्स्स्को । रोहित बर्बराइरहेको थियो । म खाना पस्किन थाले । मलाई नशामा भएपछि खाना खानैपर्छ । खाना पस्किँदा रोहित निदाइसकेको थियो । मैले खाना खाइसकेर उसलाई सजिलो पारेर सुताइदिए ।

बिहान ब्युझेर मैले कालो चिया बनाए । टाउको दुख्यो, दाइ भन्दै रोहित उठ्यो । चिया पिएर उ निस्कियो ।

केही महिनासम्म हाम्रो सम्पर्क भएन । एकदिन नयाँ नम्बरबाट फोन आयो । दाइ म रोहित । एउटा खुसीको खबर छ । म बिहे गर्दैछु हजुर आउनुपर्छ । म फिल्डमा छु, भाइ आउँन पाउँदैन । हुँदैन दाइ आउनै पर्छ । उ जिद्दी गर्दै थियो । म जान सक्ने अवस्थामा थिएन । बिहेको केहिदिन अगाडि मलाइ फेसबुकमा निमन्त्रणा कार्ड आयो । म अचम्म परेँ । कार्डमा दुलहीको नाम रोहिणी थियो । मेरो मनमा अनेकौं कुरा खेलिरहेका थिए । काठमाडौं आउनेबित्तिकै रोहितलाई फोन गरे । त्यो नम्बर प्रयोगमा थिएन । फेसबुक पनि कैयौं समयदेखि चलाइएको थिएन । त्यो रोहिणी उसको पूर्वप्रेमिका हो कि अरु कुनै केटी बुझ्‍न कैयौं प्रयास गरे । तर रोहितसँग कहिल्यै सम्पर्क भएन ।