एक बौद्धिक कविको मौनता

  • प्रकाशित मिति : August 29, 2020
  • loktantriknews

हेर्नेबित्तिकै सम्मोहनमा पार्ने गहिरा आँखा । सेतै फूलेको कपाल । निधारमा गाढा सानो रातो टीका । आँखामा पावरवाला चश्मा । सहजै खिच्न सक्ने शालीन मुस्कान ।

कवि तोया गुरुङको यो व्यक्तित्व र बौद्धिकताले उनलाई भेट्ने जो कोही प्रभावित भइहाल्छ । नेपाली साहित्यको इतिहासमा प्रथम महिला प्राज्ञसमेत रहेकी गुरुङ बीसको दशकको प्रसिद्ध कवि हुन् । अहिले ‘दिलरुवा’ नामक लामो–कविता लेखनमा सकृय उनी ७५ वर्षको सेरोफेरोमा पनि सृजनारत छिन् ।



महामारीको संकटबारे तोयाको आफ्नै धारणा छ । भन्छिन्, ‘अहिलेको भयावह अवस्था मान्छेकै अहम् र घमन्डले सृजना भएको हो ।’

उनका अनुसार सबै प्राणी, जीवजन्तु, वनस्पती र नदीनालाको साझा बासस्थान पृथ्वी हो भन्ने कुरा मान्छेले भुलिसकेको हुँदा प्रकृतिले एकपल्ट सम्झाएको अवस्था हो आजको समय ।

****

२००४ चैत १८ गते  सिन्धुपाल्चोकस्थित तातोपानी कोदारीमा बुबा पूर्णबहादुर गुरुङ र आमा पदमकुमारीको पहिलो सन्तान हुन् तोया गुरुङ । ६ छोरी र एक छोरामध्ये जेठी रहेकाले घरमा ‘ठूल्नानी’ भनेर बोलाइन्थ्यो उनलाई । घर थियो नेपाली शैलीको । उनी प्रकृतिसँग यति नजिक हुन पाइन् कि आँगनमै भोटेकोशी बग्ने । हिमाल घरनजिकै जस्तो देखिन्थ्यो ।

प्रकृतिका यी सबै सौन्दर्यसँग बाल्यकालमा नै परिचित भइन् । यसकै प्रभाव हुनसक्छ तोयाको कवितामा जताततै प्रकृति छरिएको हुन्छ ।

बुबा पूर्णबहादुर नेपाल आर्मीको मेजर । बुबाको जागिरकै कारण तोयाको बाल्यकाल नेपालको विभिन्न जिल्ला घुमेर बित्यो । एसएलसी सकुञ्जेल विराटनगर, धनकुटा, भोजपुर हुँदै भारतको कलकत्तासम्मको स्कूल भर्ना भइन् । पहिलो अक्षर सिकाइको संस्मरण पनि कुनै लोककथाभन्दा कम छैन उनको । त्यसबेला काठमाडौंको टुँडिखेलबाट उत्तरपट्टि सेतै हिमाल देखिन्थे, अहिलेजस्तो बाक्लो बस्ती थिएन  । जताजतै फराकिलो बाटो । सिंहदरबार अगाडि पूरै केराउ खेती हुने गर्थ्यो ।

अहिलेको डिल्लीबजारको पीपलबोटदेखि पूर्व–दक्षिणपट्टि पद्मकन्या स्कुलको सानो दरबार थियो । अगाडि फलफूलको भव्य बगँैचा । हरेक दिन उर्वशीजस्तै सुन्दर युवतीले त्यही दरबारभित्र बोलाएर बगैँचाको माटोमा लठ्ठीले कखग तथा एबिसिडि हात समाएर लेख्न सिकाएको स्मृति नै अक्षरसँगको पहिलो संवाद थियो उनको ।

तोयालाई ती सुन्दरी गुरुआमासँग भेट भएपछि रात कहिले नपरोस् जस्तो लाग्थ्यो । ती युवतीको सौन्दर्यले उनलाई यसरी छोयो कि अहिले पनि आँखैमा छ । त्यही समय स्कुलमा साथीले दिएको आलुबखडा खाएर पखाला लागेपछि कन्या स्कुल जान बन्द हुनु उनको नियति रह्यो ।

बुबाको सरुवासँगै विराटनगर गएपछि ती गुरुआमासँग कहिल्यै भेट भएन उनको । यो २००९ को कुरा हो । यसपछि पढ्नको निम्ति तोयालाई कलकत्ताको अमर हिन्दी हाइस्कूल पठाइयो । कलकत्तामा पढ्दा उनका अभिन्न साथीहरू प्रेमकुमारी विहारी, विजयलक्ष्मी पण्डित थिए । उनीहरू गाउन–नाच्नमा खुबै माहिर । स्कूलमा ‘१ अगस्ट’को सन्र्दभमा आयोजित साहित्यिक कार्यक्रममा तोयालाई हेटमास्टर कमलकुमार शर्माले कविता भन्न आग्रह गरे ।

पछिल्लो दशकमा साहित्यिक गतिविधिमा उति उपस्थित नभएपनि तोयाका कविताले सधैं साहित्यिक सर्कलमा चर्चा पाइरहेको छ । चाहे त्यो कविता राम्रो छ भनेर होस् या तोयाले लेखेको कुनै अर्थ छैन भनेर होस् नेपाली कविताको पाठकले उनलाई एक हिसाबले सधैं सम्मान गरिरह्यो

‘मैले पनि कण्ठ गरेर अरुकै कविता सुनाएँ,’ तोया भन्छिन्, ‘सबैबाट प्रशंसा त पाएँ, तर झुट धेरै दिनसम्म टिकेन ।’

कारण के थियो भने तोयाले वाचन गरेको कविता गोपाल सिंह नेपालीको ‘भ्रान्ती’ भन्ने कविता रहेछ । पछि थाहा भयो, कमलकुमार शर्माले त इन्द्रबहादुर राईलाई पनि अंगे्रजी पढाएका रहेछन् । त्यही इखबाट शुरु भएको काव्यसाधना अहिलेसम्म जारी छ ।

बुबा आर्मीको अफिसर भएका कारण बाल्यकालमा पाएको सुविधा र अनुशासन दुवैको अनुभव छ उनमा । कलकत्ता बस्दा पनि कडा अनुशासनमा रहिन् । प्रत्येक मान्छेको जीवनमा स्मृतिले गहिरो छाप हुन्छ, त्यस्तै तोयाको स्मृतिमा एकजना बंगाली महिला आइन् । तिनले तोयालाई तारपुरे हलुवा पकाएर दिने गर्थिन् । (यो परिकार बंगाली समुदायबीच चर्चित छ ।) हरेक दिन जब उनी स्कुलबाट थाकेर घर आइपुग्थिन्, मामाघर नजिकैकी ती महिलाको स्नेह र हलुवाको स्वाद एकैचोटी पाउँथिन् ।

तर यति लामो समय बितिसक्दा ती बंगाली महिला र आफ्ना प्यारा साथीहरू अहिले कहाँ छन् उनलाई केही थाहा छैन । यो महामारीमा उनले ती साथीलाई खुब सम्झिरहेकी छिन् । भन्छिन्, ‘छुट्टिएपछि कहिले दोहोरो भेट भएन तर बितेर गएका स्मृतिहरू कवितामा आउने रहेछ ।’

सन् १९७९ मा भारत जाँदाको संस्मरण पनि उनीसँग ताजै छ । रोयल नेपाल एयरलाइन्सका हाकिम पति कुमार घलेसँग दिल्ली जाँदा अमृता प्रितमसँगको भेट भयो उनको । बेलुकापख इम्रोज र अमृताले उनीहरूको घरमै गरेको न्यानो सत्कार उनी कहिल्यै भुल्दिनन् । त्यो समयमा तोयाको कुनै किताब प्रकाशित थिएन । तर अमृताले किताबको बारेमा सोधेकी थिइन् ।

‘उबेला किताब निस्कनु ठूलो कुरा हुन्थ्यो,’ उनी भन्छिन्, ‘पहिले स्थापित भएपछिमात्र कृति प्रकाशन हुन्थ्यो अहिले कृति प्रकाशित भइसकेपछि लेखक स्थापित हुन्छ ।’

तर, किताब निकाल्नैकै निम्ति तोयाले कहिल्यै हतार गरिनन् । पैसाको कुरा बहानामात्र हो । अहिलेसम्म ‘पुनोरावती’ २०२७ लामोकविता, ‘सुर्यदह’, ‘धुपी’, ‘देवल घुमेपछि’, ‘तोया गुरुङका लामा कविताहरू २०६०’ र ‘कुसुम’ कथासंग्रह गरी सात कृति प्रकाशित छ उनको ।

****

बीसको दशकमै तोयाको लेखनले राष्ट्रिय चर्चा पायो । सरल शैली तर विशिष्ट बिम्ब संरचनाले कवितामा आफ्नो कुरा भन्नु तोयाको विशेषता हो । कुराकानीको सिलसिलामा उनी भन्छिन्, ‘तर कविताको पाठक भने छानिएर नै आउँदा रहेछन् । मेरा कविता पनि सबैलाई मनपर्ने भन्ने हुँदैन ।’

राष्ट्रकवि माधवप्रसाद घिमिरे, भूपी शेरचन र बैरागी काइँला पनि तोयाका कविताका खास पाठक रहेछन् । पछिल्लो दशकमा साहित्यिक गतिविधिमा उति उपस्थित नभएपनि तोयाका कविताले सधैं साहित्यिक सर्कलमा चर्चा पाइरहेको छ । चाहे त्यो कविता राम्रो छ भनेर होस् या तोयाले लेखेको कुनै अर्थ छैन भनेर होस् नेपाली कविताको पाठकले उनलाई एक हिसाबले सधैं सम्मान गरिरह्यो ।

त्यसो त राम्रा कविता अमूर्त चित्रजस्तै हुन्छ भन्ने विश्वव्यापी मान्यता छ । नबुझिने कविता लेख्ने आरोप मोहन कोइरालापछि तोया गुरुङलाई लाग्ने गरेको कुरा उनलाई जानकारी छ ।

त्यतिबेला पूर्णकालीन लेखक बन्नु असम्भवजस्तै थियो । यसैले लामो समय नेपाल बैंकमा अधिकृत भएर जागिरे जीवन बिताइन् उनले । त्यहाँ हुँदा बंैकबाट प्रकाशन हुने ‘मिर्मिरे’ पत्रिकाको सम्पादक भइन् । यसो त उनले कविता लेख्न शुरु गरेको समय सहज थिएन । प्रकाशनको निम्ति सीमित माध्यम थिए । त्यसमा पनि महिलाको संघर्ष, गाह्रो त अवश्य थियो ।

तर दिनचर्या कस्तो भने हरेकदिन साँझ अफिस छुटेपछि न्युरोड पीपलबोटको ‘इन्दिरा रेष्टुराँ’मा कविलेखकको जमघट हुने । त्यहीँ भूपी शेरचन, हरिभक्त कटुवाल, मदन रेग्मीलगायतको दिनहुँको ग्यादरिङ हुने । तोया कार्यालयपछि त्यतै लाग्थिन् तर ग्रुपमा महिला उनी एकमात्र हुन्थिन् । आफू महिला भएकै कारण कहिल्यै कमजोर भान भएन उनलाई । भूपीसँगको दर्जनौं दुर्लभ संस्मरण त तोयासँग अहिले पनि याद छ । अरु साहित्यकारसँग पनि उनको मित्रता बढ्दै गयो ।

कवितामाथि राजनीति गर्नुहुन्न भन्ने मान्यता राख्ने तोया आफूलाई कुनै पनि वाद र सिद्धान्तमा राख्न मन पराउँदिनन् । ‘कवि त चरा जस्तै हो,’ उनी भन्छिन्, ‘वादको लेपले कहिलेसम्म टिक्ने, जो वादमा अड्किन्छ त्यो कवि नै होइन ।’

तोयाको कविता हिन्दी र अंग्रेजी भाषामा पनि अनुवाद भएका छन् । उनको ‘धुपी’ लामो कविता अमेरिकाका चर्चित कवि तथा फोटोपत्रकार एन हन्किन्सले अनुवाद गरेका छन् । त्यसो त धुपीकै बोटले घेरिएको नयाँ बानेश्वरको शान्त घरमा उत्साही विगत सम्झिँदै बस्छिन् तोया ।

अधिकांश समय लेखपढ गरेर बिताउँछिन् उनी । कल्पना नै सही, फ्रान्सको चर्चित नीस नदीमा उनका मनपर्ने लेख कामु, सात्रे, सिमोन द बुआ र स्टेफन जुयकसँग कफीको मिठो चुुस्कीसँगै घन्टौं साहित्य र दर्शनको कुरा गरिरहने सपना देख्छिन् । अर्थात् अझै पनि साहित्यभित्रको रस भेट्ने हुटहुटी छ उनमा ।

जीवनमा भईपरी आउने सबै घटनालाई स्वाभाविक भएर हेर्नुपर्छ भन्ने मान्यता तोयाको जीवन चलाउने मूलमन्त्र हो । सृजनशील जीवनमा आरोह–अवरोह आइरहने विश्वास राख्छिन् उनी । फेरि, गफैगफमा शहरसँग गुनासो पनि राख्छिन् । भन्छिन्, ‘लकडाउनले केही मात्रै भए पनि शहर शान्त र सफा छ । हामी मान्छेकै कारणले त संसार कुरुप भएको रहेछ । अब हाम्रै सृजनाले संसार सुन्दर बनाउनुपर्छ ।’

आखिर तोयाकै कविताले पनि भनेको छ–

विचलित हुन्न

पानीको तप…तप

इन्द्रेणी प्वाँखहरूको गुम्फन

सिमसिम बलेसीको टाकटाक टीकटीक

गहिरो रातको

सुनसान–सुनसान आवाज ।